समाचार

    उत्तराखण्ड पहिरोमा बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुल्याे

    नवलपुर टुडे
    २०८० साउन २० | मध्यान्ह ०४:०४ बजे

      काठमाण्डाै, साउन २० । अस्ति बिहीबार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिराेमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । 

      भारतको राजधानी नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालीकोट घर भइ गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन जनाको पहिचान खुलेको हो’ उहाँले भन्नुभयो । 

      घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका चर्तुवेदीले बताउनु भयाे । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बेपत्ताहरुकाे खोजी भइरहेकाे छ । 

      यस क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका सदस्यसहित काम गर्दै आएका छन् । याे ठाउँमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीमा रहेकाे दूतावासमार्फत् पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

        कमेन्टहरु