ललिता निवास प्रकरणमा सिआइबी राडरका व्यापारी बेपत्ता


काठमाण्डौ, साउन १८ । बालुवाटारस्थित चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न ।।व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता भएका छन्। सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरू बेपत्ता भएका हुन्।
उनीहरूले भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी तथा अर्का व्यापारी मीनबहादुर गुरुङसँगको सेटिङमार्फत जग्गा किनेका हुन्। सोही आरोपमा प्रहरीले पक्राउ अनुमति लिएको तर उनीहरू भने अहिले मोबाइल अफ गरेर अन्य सबै प्रकारका सञ्चार सम्पर्कबाट विच्छेद भएको प्रहरीले जनाएको छ।
सिआइबीका अनुसार ललिता निवास जग्गा प्रकरणमा तानिएका व्यापारीहरू हाल फरार रहेकाले उनीहरूको खोजीकार्य जारी छ। सिआइबी स्रोतका अनुसार विदेशी मदिराका व्यापारी सन्दीप सारडा, श्रीराम दूधका मालिक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, हेभी इक्विपमेन्ट इम्पोर्टर श्रवण गोयल यतिबेला सिआइबीको पक्राउ सूचीमा छन्।
उनीहरू अहिले नेपालमा नभएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन। गोयल सनराइज बैंकको संस्थापक सेयर सदस्य हुन्। गोविन्द संघाई, कैलाश गोयल, संगीता बोथरा पनि फरार छन्। उनीहरूलाई नेपाल फर्काउन दिल्ली प्रहरी र दुबई प्रहरीसँग सहकार्य भइरहेको स्रोतले जानएको छ। यो समाचार नागरिक दैनिकमा छ ।





