काठमाडौंको बुढानीलकण्ठमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

नवलपुर टुडे
२०८० साउन १६ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं, साउन १६ । काठमाडौंको बुढानीलकण्ठमा धारिलो हतियारको प्रहारबाट एक जना महिलाको हत्या भएको छ ।
बुढानीलकण्ठ नगरपालिका-४ भसन्थलीमा एक जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ । सप्तरी घर भई हाल भसन्थली बस्दै आएकी ३८ वर्षीया अनिता चौधरीको हत्या भएको हो । उनको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय गौरा सिंह बोहरालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बोहराले आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते चौधरीलाई उपचारको लागि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको गएराति मृत्यु भएको हो ।
घटना भएको खबरपछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले बोहरालाई नियन्त्रणमा लिएको छ ।





