मलको समस्या समाधान गर्न किसानले २ बोरा मल ल्याउँदा भन्सारमा नरोक्न अर्थसमितिको निर्देशन


काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिले अर्थमन्त्रालयसँग समन्वय गरी मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिले कृषिमन्त्री बेदुराम भुषाल र कृषि सचिव डा. गोविन्द प्रसाद शर्मासँगको छलफलमा मलको आपूर्ति र मागमा ठूलो ग्याप देखिएकाले मलको यथार्थ मागको अवस्था र आपूर्तिबीचको खाडल पुरा गर्न अर्थमन्त्रालयसँग समन्वय गरी कार्ययोजना बनाई लागू गर्न निर्देशन दिने निर्णय गरेको हो ।
रासायनिक मलको विकल्पमा जैविक र प्राङ्गारिक मलको प्रयोगका सम्बन्धमा अन्य निकायहरूसँग समन्वय गरी राष्ट्रिय रणनीति तयार गरी कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । कृषि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र स्थानीय निकायको संयोजनमा किसानलाई आवश्यक पर्ने मलको निश्चित परिमाण, मापन र मल आपूर्तिको पारदर्शी वितरण प्रणालीका सम्बन्धमा स्पष्ट रणनीति बनाई समितिलाई जानकारी गराउनु पर्ने समितिले भनेको छ ।





