देश

    बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले भगाए वन्यजन्तु तस्कर

    नवलपुर टुडे
    २०८० साउन १६ | मध्यान्ह ०३:०४ बजे

      बारा, साउन १६ । बारामा स्थानीयले प्रहरीमाथि आक्रमण गरी हतियारसहित पक्राउ परेका वन्यजन्तु तस्करलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज (मङ्गलवार) बिहान ६ बजे प्रहरीमाथि ढुंगामुढा गरी पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् ।

      वन्यजन्तुको दाँत, नङ्ग्रा तथा हातहतियार भएको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमान्डमा १५ जनाको टोली लामाको घरमा पुगेर खानतलासी गर्दा भरुवा बन्दुक, वन्यजन्तुको दाँत, नङ्ग्रा, हात्तीको रौँ फेला परेको थियो ।

      सोही क्रममा वन्यजन्तु तस्करीको आशङ्कामा सागर लामालाई नियन्त्रणमा लिएर फर्किने क्रममा टाँगिया बस्तीका स्थानीयले प्रहरीलाई चारैतिरबाट घेराबन्दी लगाएका थिए । करिब ३ सयको सङ्ख्यामा आएका महिला, वृद्धवृद्धा सहितका स्थानीयले प्रहरीलाई घेरा हालेर लामालाई भगाएको प्रहरीले जनाएको छ ।

      प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकिशुन कुर्मीले बताए । स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बलराम गिरी घाइते भएका छन् ।

        कमेन्टहरु