गौर नरसंहारका दोषीलाई कारबाहीको माग गर्दै, मोटरसाइकल र्याली


रौतहट । गौर नरसंहारका दोषीलाई कारबाहीको माग गर्दै सोमबार रौतहटमाा बृहत् मोटरसाइकल र्यालीको आयोजना गरिएको छ। २८ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याका दोषीमाथि कारबाहीका लागि दबाब दिने उद्देश्यले आम जनता पार्टीले पूर्वघोषित कार्यक्रमअनुसार चन्द्रपुर नगरक्षेत्रमा मोटरसाइकल र्याली निकालेको हो। गरुडा नगरपालिका बजारबाट निस्केको र्यालीले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको बजार र मुख्य चोक क्षेत्रमा परिक्रमा गरी चोकमा रहेको पार्कमा कोणसभा गरेको थियो।
कोणसभालाई आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, महासचिव उपेन्द्र साह, स्थायी समिति सदस्य मनोज यादवलगायतका नेताले सम्बोधन गर्दै गौर घटनाका दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरे। यसअघिदेखि नै मृतकका परिवारले गौरमा र्याली र गत आइतबारदेखि चन्द्रनिगाहपुरमा अनिश्चितकालीन धर्ना दिँदै आएका छन्।
गौर घटनामा मारिएकालाई न्याय दिनुपर्ने भन्दै रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी पीडित परिवारकाे आन्दोलनको समर्थनमा छ। तर, माओवादीबाहेक केही दल सो घटनामा सांसद प्रभु साहलगायतलाई कारबाही हुनुपर्ने बताइरहेका छन्।





