पाँचथरमा टिपर पल्टिँदा दुई जना घाइते, एककाे अवस्था गम्भीर

नवलपुर टुडे
२०८० साउन १४ | मध्यान्ह ०३:०४ बजे

पाँचथर, साउन १४ । पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा टिपर पल्टिँदा दुई जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा जोरपोखरीदेखि फिदिम आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतबार बिहान ११ बजे दुर्घटना भएकाे हाे ।
घाइते हुनेहरूमा चालक भोजपुरकाे षडानन्द नगरपालिका–१३ का रिनछिरिङ तामाङ र सहचालक सङ्खुवासभाका विक्रम विश्वकर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये सहचालक विश्वकर्माको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख कुलबहादुर बुढाथोकीले बताए ।
बुढाथोकीका अनुसार ओरालो बाटोमा गुडिरहेको टिपर ‘ब्रेक फेल’ भएर पल्टिएको थियो । घाइते दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।





