१५ हजार जरिवाना गर्ने आयोगको निर्णयविरूद्ध रास्वपाका चार सांसदले दिए अदालतमा रिट


काठमाडौं, साउन १४ । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार सांसदले रिट दायर गरेका छन् ।
आइतबार आयोगको निर्णयविरूद्ध सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् । पाटन उच्च अदालतका स्रेस्तेदार ठगिन्द्र कट्टेलले रिट दर्ता हुने प्रक्रियामा रहेको बताए ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो ।
निर्वाचन आयोगले साउन ९ गते प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो । प्रतिनिधि सभाका १०३७ र प्रदेश सभाका १२९८ जना उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय आयोगले गरेको थियो ।
उक्त सूचीमा रास्वपा सांसदहरू श्रेष्ठ, खनाल, पराजुली र गौतम पनि परेका थिए ।





