बाँकेमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

नवलपुर टुडे
२०८० साउन १३ | मध्यान्ह ०४:०४ बजे

बाँके, साउन १३ । बाँकेको राप्ती सोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार राति १२ बजेतिर राप्तीसोनारी गाउँपालिका–४ हुलाकी राजमार्गअन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राप्तीसोनारी–३ का चालक ३० वर्षीय राम थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो । यस्तै घाइते हेमकुमार थारु र प्रकाश थारुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको धामपुरबाट सुर्यलालपुर जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





