समाचार

    जातीय विभेदविरुद्ध बालुवाटारमा अनेरास्ववियुको प्रदर्शन

    नवलपुर टुडे
    २०८० साउन १३ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौं, साउन १३ । जातीय विभेदका घटना बढ्दै गएको भन्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन् ।

      बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटना लगायतका विभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले शनिबार प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेका हुन् ।

      प्रदर्शनमा सहभागीहरूले ‘व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले ?’, ‘पीडितलाई न्याय दे’, जातीय छुवाछुत अन्त्य गरौँ’, ‘जातीय विभेद बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

      प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङ किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै तत्काल विभेद गर्नेलाई कारबाही गर्नुपर्ने बताए । उनले पटक पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको बताए ।

      विभेदका घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

        कमेन्टहरु