होटलमा मृत भेटिएका वरिष्ठ सई पौडेलको हत्या भएको खुलासा


बागलुङ, साउन १० । बागलुङको बडिगाड गाउँपालिका-६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेलको हत्या भएको खुलेको छ । उनी मृत भेटिएका होटलका सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा वरिष्ठ सई पौडेलको हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीका अनुसार होटलमा खाजा खान गएका पौडेलसँग सामान्य विवाद हुँदा उनीहरूबिच कुटाकुट परेको थियो । निर्घात् कुटपिटबाट बेहोस् भएका पौडेललाई आमाछोरा मिलेर कपडाले घाँटी कसेर हत्या गरेको खुलेको डिएसपी केसीले जानकारी दिए ।
वरिष्ठ सई पौडेल मंगलबार बिहान २ बजे मृत फेला परेका थिए । घटनापछि आशा र उनका छोरालाई पक्राउ गरी अनुसन्धान गर्दा मंगलबार राती साढे १२ बजेतिर उनीहरूले नै हत्या गरेको खुलेको हो । पौडेलले लगाएको सुनको सिक्री उनीहरूको किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको थियो ।
उनीहरूविरूद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए ।





