गण्डकी प्रदेश

    पहिरोको जोखिममा विद्यालय

    नवलपुर टुडे
    २०८० साउन १० | बिहान ०८:०४ बजे

      म्याग्दी, साउन १० गते । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ । विद्यालयदेखि तलको जमिनमा पहिरोका कारण चिराचिरा भएसँगै कक्षा कोठा पहिरोको जोखिममा परेको हो । पहिरोले कक्षा कोठाको भवन जोखिममा परेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत छन् ।

      विद्यालय भवन पहिरोको जोखिममा छ वडाध्यक्ष राजाराम सुवेदीले भन्नुभयो, ‘‘विद्यालय भवनदेखि तल पहिरो खसेका कारण कक्षा कोठा भत्किने जोखिम बढेको छ । भवननै भत्किने जोखिम बढेकाले कक्षा ४ का विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाउने व्यवस्था मिलाएका छौं ।’’ पहिरोले दुई कोठे शौचालय भवनको पर्खाल चिरा परेर प्रयोग गर्न नमिल्ने भएको उहाँले बताउनुभयो ।

      मङ्गलबार गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र प्राविधिकको टोली विद्यालयमा पुगेर पहिरो रोकथामका लागि छलफल भएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । तत्काल थप क्षति हुन र पठनपाठन प्रभावित हुन नदिने व्यवस्था मिलाउने र पहिरो रोकथामका लागि ग्यावियन झाली लगाउने व्यवस्था मिलाउने वडाध्यक्ष सुवेदीले बताउनुभयो ।

        कमेन्टहरु