कोसी सरकारविरुद्धको रिट आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदै


काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको छ । आज उक्त रिटमा तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले कोसी सरकारविरुद्ध एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो ।
असार २२ गते एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारविरुद्ध रिट दायर गरेका थिए । उनले थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गरेका छन् ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठले मुद्दाको फाइल अध्ययन गरेपछि संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउने कि कसरी सुनुवाइ गर्ने राय मागेका थिए । उक्त विषयमा वकिलहरूले छोटोमा राय दिएका थिए । निवेदक हिक्मत कार्कीसहित सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेलले समेत आफ्नो राय राखेका थिए ।
संवैधानिक इजलासमा पठाउँदा लामो समय लाग्ने र साउन २० गतेअघि मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिइसक्नुपर्ने अवस्थाका कारण छिटो सुनुवाइ सक्ने गरी पूर्ण इजलासबाट सुनुवाइ गर्ने निष्कर्ष निकालिएको सर्वोच्च स्रोतले जनाएको छ । न्यायाधीशद्वय माथेमा र श्रेष्ठले ‘चिया ब्रेक’पछि निर्णय दिने भनेर इजलासबाट बाहिरिएकोमा फर्किएर पूर्ण इजलासमा पठाउने आदेश सुनाएका हुन् ।





