भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन्। इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उनीसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए।
प्रधानमन्त्री दाहालसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूले भेट गरेका थिए। भेटमा प्रधानमन्त्री दाहालले ठूला–ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताए।
सो अवसरमा सरकारले गरेका कामबाट विदेशमा भएका नेपालीमा देश बन्ने भो भन्ने सन्देश प्रवाह भएकाले त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिन एवं ऐक्यबद्धता जनाउन नेपाली सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले युरोपमा रहेका नेपालीको समस्या समाधान गर्नका लागि कूटनीतिक तवरले आफू लागिपरेको बताए।





