लाइसेन्स बनाइदिने भनी चार लाख ३० हजार रुपैयाँ ठगी गर्ने पक्राउ


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन्।
पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार रुपैयाँ बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए। यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।





