देश

    सुनसरीको धरानमा डेंगुबाट तीन महिनाको अवधिमा छ जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० साउन ८ | मध्यान्ह ०१:०४ बजे

      धरान । सुनसरीको धरान उपमहानरपालिकामा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । डेंगु संक्रमणबाट धरानमा ३  महिला र ३ पुरुष गरी छ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। सर्वसाधारणको ज्यान जाने गरी महामारीको रुपमा फैलिएको डेंगु रोगको संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकारले चासो भने देखाएका छैनन् ।  समयमै डेंगु नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या वृद्धि भएको छ । 

      डेंगु संक्रमणले धरानमा प्रत्येक घरका सदस्य बिरामी भएका छन् । आइतबार राति धरान २ का एक पुरुष र सोमबार धरान १० का अर्का पुरुषको निधन भएको छ । दुबैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको स्वास्थय महाशाखा प्रमुख मेहताले बताए । यस अगाडी जेठ ३० गते धरान १७,असार १५ गते धरान ११ साउन २ गते धरान १८ का एक/एक जना महिलाको डेंगुकै कारण मृत्यु भएको थियो । साउन २ गते धरान ११ का अर्का एक पुरुषको डेंगुकै कारण निधन भएको मेहताले बताए।

      धरान उपमहानगरपालिकामा ५ हजार बढि सर्वसाधारणलाई डेंग संक्रमण देखा परेको छ । धेरैजसो संक्रमितहरू निको भइसकेका छन् । दैनिक डेंगु संक्रमित हुनेको संख्या पनि दुई सय बढि रहेको छ । डेंगु संक्रमित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलमा उपचार गराइरहेका छन् । बीपी प्रतिष्ठानले यस अगाडि कोभिड अस्पताल सञ्‍चालन गरेको स्थानमा डेंगुको उपचार सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा प्रल्हाद कार्कीले बताए । 

      डेंगु रोग एडिस प्रजातिको संक्रमित पोथि लामखुट्टेले टोकेपछि सर्ने रोग हो । डेंगु रोगको चार प्रकारका सेरोटाइप हुने गरेको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका माइक्रोवायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टाईले बताए । डेंगु सेरोटाइपमा डेंगु १, डेंगु २,डेंगु ३ र डेंगु ४ गरी चार प्रकारमा विभाजन गरिएको डा.भट्टराईले बताए । धरानमा अहिले डेंगु १ र डेंगु ३ का सेरोटाइपहरू बढि मात्रामा देखा पर्ने गरेको डा.भट्टराई बताउँछन्। 

      एडिस प्रजातिको संक्रमित पोथी लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने,शरीरमा दादुराजस्ता फोका आउने,टाउको दुख्ने,पखला लाग्ने, बान्ता आउने, जोर्नी दुख्ने, र शरीर कमजोर हुनेजस्ता लक्षण देखापर्छन्। । संक्रमणका कारण बिरामीको रगतमा प्लेटलेस कमी हुने भएकाले बिरामीले पोषिलो र झोल पदार्थ बढि मात्रामा खानुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । 

        कमेन्टहरु