ललिता निवास प्रकरणः पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ।
उनले भनने, ‘पक्राउ परेकालाई सरकारी छाप र दस्तखत किर्ते लिखतसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँ पटक आज पाँच दिन म्याद थप भएको हो।’
उक्त प्रकरणमा हालसम्म १९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनका अनुसार कलाधर देउजालाई आजै पक्राउ गरी अनुसन्धान थालिएको छ।
यसअघि गत असार ३१ गते पनि अदालतले पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेका भन्दै सिआइबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।
ललितानिवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो। तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ। रासस





