रत्ननगरमा अपाङ्गता भएकी छात्रालाई ट्राइसाइकल वितरण


रत्ननगर । शारीरिक अपाङ्गता भई हिँडडुल गर्न नसकी कलेज पढ्नबाट वन्चित भएकी रत्ननगर ५ झुवानी निवासी २८ वर्षीया रोमिया महतोलाई शुकबार रत्ननगर नगरपालिकाद्वारा ट्राइसाइकल वितरण गरिएको छ। मेरुदण्ड पक्षघात भई अध्ययन गर्नबाट वन्चित भएपछि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको पहलमा इलेक्टिक ट्राइसाइकल वितरण गरिएको हो।
शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा बिबिएस दोस्रो वर्षमा पढ्दापढ्दै अपाङ्गताका कारण पढाइ छाडेको जानकारी पाएपछि नगरप्रमुख सापकोटाले पढ्नबाट कोही पनि वन्चित हुनुनपरोस् भन्ने उद्देश्यले इलेक्टिक ट्राइसाइकल वितरण गरिएको जानकारी दिए ।
जसरी पनि पढाइ नछाड्न मेयरसाबको आग्रहपश्चात् पुनः बिबिएस प्रथम वर्षमा भर्ना भई पढ्न सुरु गरेको रोमिया बताउँछिन् । उनको पढाइमा लाग्ने सबै खर्च नगरपालिकाले बेहोर्ने गरी रोमियालाई ट्राइसाइकलको व्यवस्था गरिएको नगर प्रमुख सापकोटाले बताए ।





