देश

    कावासोतीका किसान कागतीखेतीमा

    नवलपुर टुडे
    २०८० साउन ५ | मध्यान्ह ०३:०४ बजे

      नवलपरासी । जिल्लाको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन्।

      पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरे। ‘अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ’, लम्सालले भने। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उनले अनुदानमा सुनकागती–१ का बिरुवा लगाएका हुन्। 

      लम्सालले भने, ‘बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिक रुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ।’ परियोजनामार्फत पिभिसी ट्यांकी, ट्यांकी स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उनले बताए। 

      लम्सालका अनुसार कागती खेती लगाउन तथा हेरचाह गर्ने विषयमा पनि परियोजनाले  सहजीकरण गरिरहेको छ। ‘स्वदेशमा नै व्यवसाय गर्ने सोचलाई परियोजनाले साथ दियो’, उनले भने, ‘अहिले १७ गट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन्।’ 

      उक्त परियोजना सञ्चालन भएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिक रुपमा कागती खेतीमा आकर्षित भएका लम्सालको भनाइ थियो। एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागती खेतीतर्फ आकर्षित भएका उनले बताए। 

      गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले अहिले धान बाली लगाउन छाडेर कागतीखेती सुरु गरेका छन्। उनले परियोजनाको ५० प्रतिशत अनुदानमा एक सय ५० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमा खेती सुरु गरेका हुन्। 

      ‘सुनकागती–१ लगाएका कृषकको बारीमा अवलोकन जाँदा उत्पादन राम्रो भएको देखेर व्यावसायिक रूपमा कागतीखेती गर्ने सोच आयो’, ढुङ्गानाले भने, ‘धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ। एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ।’ 

      जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित सुन्तला र फलफूल कार्यक्रममा कृषक आकर्षित भएका छन्। यस परियोजना सञ्चालनमा आएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका परियोजनाले जनाएको छ। 

      परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माका अनुसार जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागतीखेती सुरु गरेका छन्। परियोजनाले दिएको अनुदानमा सञ्चालित नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको उनले जानकारी दिए।

      आर्थिक वर्ष २०७५/७६ देखि गाउँपालिकामा बुलिङटार, बौदिकाली र हुप्सेकोटको वडा नं ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यविन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रममार्फत खेतीका लागि क्षेत्र विस्तार र नर्सरी निर्माण भइरहेको छ।
          
      ‘परियोजना सुरु हुनुपूर्व जिल्लामा तीन सय ३१ हेक्टरमा सुन्तला र कागतीको खेती हुँदै आएको थियो’, कृषि अधिकृत शर्माले भने, ‘अहिले आठ सय १८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ।’ यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ। 

      तुलनात्मक रुपमा क्षेत्रफल सुन्तलाको बढी भए पनि किसान कागतीखेतीतर्फ पनि आकर्षित हुँदै गएका उनको भनाइ थियो। शर्माले भने, ‘यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागतीखेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिनुभएको छ।’

      शर्माका अनुसार सुनकागतीका बिरुवा तापक्रम बढी भएका ठाउँमा छिटो बढ्ने भएकाले पछिल्लो समय तराईमा सुनकागती लगाउन किसान आकर्षित भएका हुन्। रासस

        कमेन्टहरु