बसभित्र लगेर वृद्धामाथि गरे सामूहिक बलात्कार


काठमाडौँ, साउन ५ । प्यूठान स्वर्गद्वारी बस्ने एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ । स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा सामूहिक बलात्कार भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुस्कर रोका र सल्यान जिल्ला कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विकले उक्त वृद्धामाथि सामूहिक बलात्कार गरेका हुन् ।
वृद्धालाई खाना खुवाइदिने र बासको पनि व्यवस्था गरिदिने भन्दै उनीहरुले ललाइफकाइ तुलसीपूर बसपार्कमा पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना भइरहेकै अवस्थामा पक्राउ परेका रोका अर्कै बसका र विक ट्रकका सहचालक हुन्। उनीहरुले ना ४ ख ७८४८ नम्बरको बसको ढोका नलगाएको पाइएपछि वृद्धालाई त्यही बसभित्र लगेका थिए।
दाङको घोराही उपमहानगरपालिका-१० स्थित मानव सेवा आश्रममा बस्दै आएकी उक्त वृद्धा महिला हिजो (बिहीबार) आँखाको उपचार गर्न तुलसीपुर आएकी थिइन्।





