देश

    इमेज सहकारीका सञ्चालकलाई थुनामा राख्‍न जिल्ला अदालत बागलुङको आदेश

    नवलपुर टुडे
    २०८० साउन ५ | बिहान ०८:०४ बजे

      बागलुङ । बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना पारेको आरोपमा जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दिवकर भट्टको इजलासले सञ्चालकहरुलाई थुनामा राख्ने आदेश दिएको हो ।

      बिहीबार भएको थुनछेक बहसपछि राति आएको अदालतको आदेशमा हाल पक्राउ परेका सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी शक्ति किसान र लालमती रोकालाई थुनामा राख्ने आदेश दिएको हो । मुद्दा परेका मध्येबाट सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य सञ्चालक फरार छन् ।

      १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित ११ जना सञ्चालकविरुद्ध १ अर्ब ३० करोड रुपैयाँ हिनामिना गरेको भन्दै अदालतमा ठगी मुद्दा दिएका थिए । केही बचतकर्ताले उजुरी दिएका छैनन् । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली गत जेठ पहिलो सातादेखि फरार छन् ।

      भण्डारीलाई प्रहरीले जेठ ३२ गते बुर्तिवाङबाट पक्राउ गरेको थियो भने रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेको थियो । असार ११ गते सहकारीका प्रबन्धक किसानलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अन्य सञ्चालक भने फरार छन् ।

      अदालतमा मुद्दा दर्ता भएकै दिनदेखि बचतकर्ताले दैनिकजसो सडकमा आन्दोलन समेत गर्दै आएका छन् । उनीहरुले अध्यक्ष नेपालीसहितका सबै सञ्चालक पक्राउ गर्न पनि माग गरेका छन् । नेपाली भने जेठ ५ गतेदेखि फरार छन् । गत वैशाख ६ गतेको सञ्चालक समितिको बैठकको निर्णय कार्यालयमा टाँसेर ७ गतेदेखि सहकारी बन्द गरिएको छ ।

      सयौं बचतकर्ताको उजुरी परेकोले अदालतका कर्मचारीले समेत दर्ता गर्ने र अदालतको आदेश बनाउने काममा समेत रातिसम्म समय खर्चेका थिए ।

       

        कमेन्टहरु