नवलपरासीको जीतपुरबाट लागुऔषधसहित दुईजना पक्राउ


नवलपरासी, साउन ४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित जीतपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका- ६, पडरी बस्ने बर्ष २० को दिनानाथ तिवारी र सोही मोटरसाइकल पछाडी सवार, सोही स्थान बस्ने बर्ष २० को करण यादव रहेका छन ।
उनीहरुलाई बिहिवार साझ ५ बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि. धर्म बहादुर कुँवरको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको युपि ५६ भि ५७८८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारी मोटरसाइकल, लागुऔषधसहित आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
चेकजाँचको क्रममा उक्त मोटरसाइकलको पछाडी सवार करण यादवले बोकेको कालो प्लाष्टिकको झोलामा फेनारागन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र नुफिन ४० एम्पुल फेला परेको हो । पक्राउ पर्ने दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान कार्य अगाडि बढाएको पाण्डेयले बताए ।





