देश

    पाल्पामा १० वर्षमा ७ सय २७ जनाले गरे आत्महत्या

    नवलपुर टुडे
    २०८० साउन २ | बिहान ११:०४ बजे

      आत्महत्या गरेका ७ सय २७ मध्ये ६ सय १९ जनाले झुण्डिएर प्राण त्याग गरेका छन्

      पाल्पा । पाल्पामा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा बढ्दै गएको छ । १० वर्षमा यहाँ ७ सय २७ जनाले आत्महत्या गरेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

      आर्थिक वर्ष २०७०/७१ मा पाल्पामा आत्महत्या गर्नेको संख्या ५४ थियो । ०७१/७२ मा ५५ जनाले आत्महत्या गरेका थिए । यसैगरी आव ०७२/७३ मा ७५ जनाले आत्महत्या गरेकाे प्रहरीको तथ्यांकमा उल्लेख छ । आव ०७३/७४ र ७४/७५ मा आत्महत्या गर्नेको संख्या समान ६७/६७ रहेकाे छ । यस्तै आव ०७५/७६ मा आत्महत्या गर्नेको संख्या बढेर ९० पुगेको थियाे । जुन १० वर्षको तथ्याङकमा सबैभन्दा बढि हो ।

      यसैगरी आव ०७६/७७ मा ८३, आव ०७७/७८मा ७६, आव ०७८/७९ मा ७५ जनाले आत्महत्या गरेकाे प्रहरीको तथ्यांकमा उल्लेख छ । यस आर्थिक वर्षमा पनि आत्महत्या गर्नेको अनुपात घटेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङक अनुसार असार ३१ सम्म ८५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका ७ सय २७ मध्ये ६ सय १९ जनाले झुण्डिएर प्राण त्याग गरेका छन् ।

      जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा कट्टेलका अनुसार आव ०७९/८० मा आत्महत्या न्यूनिकरणको अभियान स्वरुप सचेतनाका लागि ३५ वटा कार्यक्रम गरिएको छ । मानिसलाई समुदायमा भेला गरेर जीवनको महत्व बुझाउँदै प्रहरीले व्यवहारिक ज्ञान बाँड्ने गरेको एसपी कट्टेलले बताए । धेरै मानिसहरुले स्वास्थ्यका कारण, एक्लोपनाको कारण, आवेशमा आएर र आर्थिक अभावले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ ।

      यस वर्ष प्रहरीले आत्महत्या न्यूनिकरणका लागि विशेष कार्य गर्ने योजना रहेको एसपी कट्टेलले बताए । उनले आफुहरुसंग आर्थिक स्रोतको अभाव हुने भएकाले स्थानीय सरकारसँग समन्वय गरेर समुदाय, विद्यालय, र समुहमा सचेतनाको काम गर्ने योजना रहेको बताए । स्थानीय तहले कुनै न कुनै उपाएको खोजी गरि आत्महत्या न्यूनिकरणका विषयमा काम गर्नु पर्ने उनको सुझाव छ ।

      स्थानीय सरकारले ध्यान दिन सकेनन्
      सरकार अविभावक हो भने आफ्ना नागरिकको जिवन बचाउने प्रयत्न गर्नु उसको पहिलो जिम्मेवारी हो । तर स्थानीय सरकारले आत्महत्या रोकथामको बिषयमा खासै सोंच्ने फुर्सद पाएका छैनन् ।

      रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आत्महत्या न्यूनिकरणका लागि ठोस कदम चाल्न नसकेको र यसबारे आगामी आर्थिक वर्षमा काम गरिने बताए । ‘स्वास्थ्य शाखाबाट केही काम भएको होला तर हामीले महत्व दिन सकिरहेका छैनौँ’, अध्यक्ष कार्कीले भने, ‘आगामी दिनमा अवश्य सोँच्छौ ।’

      तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आत्महत्या न्यूनिकरणको विषय महत्वपूर्ण भएपनि ध्यान दिन नसकिएको तर यो वर्ष काम गर्ने प्रतिबद्घता जनाए । उनले आर्थिक अभाव, बेमेल र ठूला महत्वकांक्षाले बढि आत्महत्या हुने गरेको औँल्याए ।

      माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले आत्महत्या न्यूनिकरणका लागि सकारात्मक सोँचको विकास गराउनु महत्वपूर्ण कुरा भएको बताउँदै यो वर्ष विद्यालय, आमा समुह र युवा क्लबलाई लक्षित गरेर सचेतना अभियान चलाइने बताए । माथागढीले पनि अहिलेसम्म ठोस काम गरेको छैन ।

      बगनासकाली गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत आत्महत्याका सवालमा केहि कार्यक्रम गरेको अध्यक्ष सरस्वती चिदी दर्लामीको भनाई छ । प्रहरीसंगको समन्वयमा समेत केही सचेतनामुलक काम भएको भन्दै अध्यक्ष दर्लामीले यो वर्ष योजना बनाएर लाग्ने बताईन् ।

      रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले मनोपरामर्श दाताबाट यस वर्ष विभिन्न समुदायमा सचेतनाको काम गर्ने योजना रहेको बताए । उनले गतवर्ष पनि आत्महत्या न्यूनिकरणका लागि काम गरेको तर त्यो प्रयाप्त नभएको बताए।

      रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले चेतनाको कमि र बेरोजगारीले आत्मत्या बढेको बताउँदै यसको न्यूनिकरणका लागि मानिसहरुलाई व्यस्त बनाउनुपर्नेमा जोड दिए । उनले समुदाय स्तरमा चेतनामुलक काम गरिएको तर त्यो प्रयाप्त नभएकाले थप ध्यान दिनु पर्नेमा जोड दिए ।

        कमेन्टहरु