नवलपुर जिल्लामा २०७९/८० आर्थिक वर्षमा २९ करोड राजश्व संकलन


कावासोती, साउन १ । नवलपुर जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा झण्डै २० करोड राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशान कार्यालयले उक्त रकमको राजश्व संकलन गरेका हुन् ।
सोमबार कावासोतीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयले १० करोड ५७ लाख ७२ हजार ५१२ रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार छलिका सामान नियन्त्रणमा लिएर ६ करोड ३८ लाख ९२ हजार, नदीजन्य पदार्थ चोरी तस्करी गर्नेहरुबाट ३९ लाख ५ हजार रुपैयाँ संकलन भएको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
त्यस्तै जिप्रका र मातहतसमेतमा रहेका कसुरजन्य सम्पत्ति मोटर साइकल र गाडी लिलाम बिक्रि गर्दा ४१ लाख ४३ हजार, घरेलु मदिराबाट जरिवानास्वरुप ४० हजार संकलन भएको जनाए ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । ट्राफिक नियम उलंघन गर्ने ३७ हजार ९०५ वटा गाडीलाई कारवाही गर्ला यो रकम संकलन भएको जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरिक्षक गणेश पौडेलले जानकारी दिए । त्यस्तै शसस्त्र प्रहरीले ३ करोड ९१ लाख ७१ हजार ३७० रुपैयाँ संकलन गर्न सफल भएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले भने गत आर्थिक वर्षको भन्दा दोब्बर राजश्व उठाउन सफल भएको छ । कार्यालयले जम्मा ११ करोड ५७ लाख ११ हजार ४७७ रुपैयाँ संकलन गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ३९ लाख ९१० रुपैयाँ राजश्व उठाएको थियो ।
आव २०७९/८० मा राहादानीबाट सबैभन्दा बढी १० करोड ४९ लाख ९७ हजार, संसथा दर्ता र नविकरणबाट ११ लाख ४१ हजार ७ सय, प्रशासनिक दण्ड जरिवानाबाट २८ लाख ४४ हजार ६०७, सरकारी सम्पत्ति बिक्रिबाट ४० हजार र अन्य प्रशासनिक सेवा शूल्कबाट ६३ लाख ४८ हजार १७० रुपैयाँ संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले जानकारी दिए ।





