देश

    फेसबुकबाट ठगी गर्ने ७ जना गिरोह पक्राउ

    नवलपुर टुडे
    २०८० असार २८ | मध्यान्ह ०२:०३ बजे

      उदयपुर । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी १ वर्षमा अर्ब बढी रकम ठगी गरेको आरोपमा उदयपुर प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

      पक्राउ पर्ने अभियुक्तहरु भारतको उत्तराखण्ड राज्य पौडी गढवाल स्थायी घर भई हाल झापाको बिर्तामोड नगरपालिका ५ इन्द्रटोल बस्ने ३६ वर्षीय प्रविण भट्ट, मधेश प्रदेशको सप्तरी बिष्णुपुर गाउँपालिका २ सिम्राहाका २० वर्षीय निरजकुमार साह, गुल्मीको स्मारजस्थल गाउँपालिका ५ का ३२ वर्षीय ध्रुब थापा र सप्तरीकै राजविराज नगरपालिका १ डुम्रीका २५ वर्षीय डम्बर साह छन्। त्यस्तै, मोरङको बिराटनगर महानगरपालिका २० का ३७ वर्षीय हेमराज साह, झापा गाउँपालिका १ बेलैतिवारीका ३१ वर्षीय बरजहान सेख र बाराको कलैया उपमहानगरपालिका २० का २३ वर्षीय रुस्तम मन्सुरी रहेका छन्।

      पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सार्वजनिक गर्दै हुण्डी र क्रिप्टो करेन्सीको माध्यमबाट वर्षदिनमा १ अर्ब ९ कराड १ लाख ४२ हजार ३ सय ९३ रुपैँया ठगीको रकम कारोबार भएको जानकारी दिइएको हो। 

      उदयपुरको कटारी नगरपालिका ४ की ३६ वर्षीया सरिता तामाङलाई १ लाख ३० हजार ६ सय २७ रुपैँया ठगेको उजुरीपछि खोजविन थालेको प्रहरीले भारत र नेपालका विभिन्न ठाउँका सूचना प्रविधि (आईटी) इन्जिनियरसहित ७ जना पक्राउ परेपछि यत्ति ठूलो ठगीधन्दाको रहस्य खुलेको हो। पक्राउ परेकाहरुले उपहार, पार्सल, हुण्डी तथा विदेशी बिनियम अन्तर्गत क्रिप्टो करेन्सी कार्यमा संलग्न भएर सो परिमाणको ठगी गरेको पाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

      इप्रका कटारीका डिएसपी रविन कार्कीका अनुसार कटारी बजारकै सरिता तामाङ ठगिएपछि अनुसन्धान गर्दै जाँदा विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको हो। जस अनुसार सबभन्दा पछि ०८० असार १३ गते पक्राउ पर्ने ३ जना बिराटनगरका हेमराज साह, झापाका बरजहान सेख र बाराका रुस्तम मन्सुरी रहेका छन्। त्यसअघि असार १० गते सप्तरीका डम्बर साह, असार ४ गते गुल्मीका ध्र्रुब थापा, जेठ २१ गते सप्तरीकै निरजकुमार साह र जेठ ८ गते भट्ट पक्राउ परेका थिए।

      विभिन्न व्यक्तिगत तथा संस्थागत बैँक खाता खोलेर ठगीको.रकम जम्मा गर्ने, तत्कालै कमिशन खाएर अर्को खातामा स्थानान्तरण (ट्रास्फर) गर्ने गरेका उनीहरुलाई पक्राउ गर्न प्रहरीले बिभिन्न उपाय अपनाएको जनाएको छ। सरिता तमाङलाई ‘गुडनेस इजराईल’ नामक अमुक व्यक्तिले फेसबुक साथी बनाई ह्वाट्सएप र म्यासेन्जरमा कुराकानी गर्न थालेको केही समयपछि ७० हजार अमेरीकी डलर र लगेज पठाएको तर, एयरपोर्टमा रोकिएकाले अन्तराष्ट्रिय विमानस्थलको भन्सार विभागमा रकम तिर्नुपर्ने बताएपछि ७० हजार डलरको प्रलोभनमा परी सरिताले १ लाख ३० हजार ६ सय २७ रुपैँया पठाएको प्रहरी भनाइ छ। तर, उक्त पैसा अपुग भएको भन्दै थप पठाउन आग्रह गरेपछि मात्र आफू ठगिएको महसुस गर्दै तामाङ इप्रका कटारीमा उजुरी दिन पुगेकी हुन्।

      उनको उजुरीका आधारमा प्रहरीले सो आईडी खोजतलास गर्दै जाँदा भापामा फेला पारी भट्टलाई पक्राउ गरेसँगै ठगीमा संलग्न गिरोहसम्म पुग्न सफल भएको इप्रका कटारीका डिएसपी कार्कीले बताए। भट्ट पक्राउ परेपछि उनकै बयानका आधारमा अनुसन्धान गर्दै लाँदा अर्बौँ ठगीधन्दामा संलग्नहरु ७ जना समात्न सफल भएको र अझै १० जना फरार सूचीमा राखेर खोजी कार्य भइरहेको उनले बताए। आरोपीहरु विभिन्न देश विदेशमा लुकीछिपी बसेर ठगीधन्दा चलाईरहेको अनुसन्धानले देखाएको प्रहरी भनाइ छ। पक्राउ सबैलाई ठगी सम्बन्धी मुद्धामा अदालतबाट पटकपटक गरी ५२ दिनसम्म म्याद थपेर अनुसन्धान गरिरहेको जनाइएको छ।

      पक्राउ सार्वजनिक गर्ने क्रममा ठगी गिरोहमा संलग्न १ जना सूचना प्रबिधि (आईटी) इन्जिनियर र अर्का १ आईटी इन्जिनियरिङ अध्ययनरत रहेको खुलेको जानकारी दिइयो। आईटी पढेकाहरु नै संलग्न भई ठगी गर्ने र ठगीको रकम एउटा खातामा मात्र नराखेर कमिशन खाई बिभिन्न खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ। उनीहरुले विभिन्न फर्जी परिचयपत्र बनाएर पढेलेखेकै मानिसलाई पनि सजिलै प्रलोभनमा पारेर फसाउने गरेको पनि अनुसन्धानले देखाएको छ।

      पक्राउ अभियुक्त सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले सामाजिक सञ्जाल प्रयोग गर्दा सजग हुन र ठगीबाट बँच्न आग्रह गरे। पढेलेखेकै र जान्ने बुझ्ने मान्छे नै ठगीमा सामेल भएको पाइएकाले कुनै पनि अवस्थामा जो सुकै व्यक्ति ठगिन सक्ने भन्दै एसपी फुयालले कुनै पनि अपरिचित व्यक्तिले पार्सल पठाएको, चिठ्ठा परेकोजस्ता प्रलोभन दिएर पैसा पठाई मागेसचेत रहन र प्रहरीलाई खवर गर्न सुझाए।

        कमेन्टहरु