रौतहटमा सवारी दुर्घटनामा परी भारतिय नागरिकको मृत्यु


दिपेश कुमार शाह
रौतहट, असार २७ । रौतहटको विर्ता चोकमा मंगलबार राति म्याजिक जीपको ठक्करबाट एक जना भारतिय स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत देश जिल्ला सितामडी ग्राम पञ्चायत बरगिनिया–१३ का ३५ वर्षीय चन्दन कुमार रहेको छ ।
गरुडा नगरपालिका–८ पाल पेट्रोल पम्पस्थित चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको प्र २–०१–००१ च.००६३ नम्बरको म्याजिक जीपले विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० डब्लु ७१३९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको हो ।
म्याजिक जीपको ठक्करबाट गम्भीर घाइते चन्दन कुमारलाई उपचारका लागि गरुडा हेल्थ ल्यान्ड हस्पिटलमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश कुँवरले बताए । प्रहरीले ठक्कर दिने म्याजिक जीपलाई नियन्त्रणमा लिईएको छ ।
घटना लगत्तै चालक फरार छन् । ठक्कर दिने म्याजिक जीपलाई जाँच गर्दा फेला परेको ब्ल्युबुकमा सिरहा लहान–४ बस्ने जहिद अन्सारी र सवारी चालक अनुमतिपत्रमा अजिम अन्सारी लेखिएको प्रहरीले फेला पारेको छ ।
उक्त म्याजिक जीपको चालकको खोजी भइरहेको ईलाका प्रहरीले जनाएको छ ।





