देश

    कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने सत्ता गठबन्धनको निर्णय

    नवलपुर टुडे
    २०८० असार २१ | मध्यान्ह १२:०३ बजे

      काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने पुनः निर्णय गरेको छ ।

      बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज साँझ पाँच बजे थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न पुनः निर्णय गरेको बताए ।

       ‘कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने निर्णय गरेका छौँ । त्यसमा केही कन्फ्युजन थियो,’ उनले भने, ‘आज माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राईलाई बोलाएर आज पाँच बसेसम्म उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्ने भनेर हामीले पुन: निर्णय गरेर पठाएका छौँ ।

      कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रबार विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ ।

        कमेन्टहरु