देश

    गृह एवम उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै

    नवलपुर टुडे
    २०८० असार १७ | बिहान ०६:०३ बजे

      काठमाडौ । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् ।

      भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा उनीहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचार–विमर्श भएको थियो ।

      थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकाहरूमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।

      उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । 

      भ्रमणका दौरानमा उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए।

      यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उनले छेन्दु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरेका थिए । 

      छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो ।

        कमेन्टहरु