बाढी/पहिरो

    नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध

    नवलपुर टुडे
    २०८० असार १६ | मध्यान्ह ०२:०३ बजे

      कावासोती, असार १६ । नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात  पहिरोका कारण अवरुद्ध भएको छ।जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरोका कारण  यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए ।

      पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए।नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरोले अवरुद्ध भएपछि दल्दलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् । पहिरोले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ।

      यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिरोका कारण अवरुद्ध भएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका- १ र ६ वडामा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए ।

      नवलपुर जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले जानकारी दिए।

        कमेन्टहरु