हेटौंडामा बस दुर्घटना, ४९ यात्रु घाइते, घाइते मध्ये केहीको अबस्था गम्भीर


मकवानपुर, असार १४ । हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् । आज दिउँसो करिब २ बजे चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ । घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । उक्त स्थानमा सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ, भने बाँकीको सामान्य रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र चालक सम्पर्कमा नरहेको उनले बताए ।





