नवलपरासीकाे कावासाेतीमा विषाक्त खानाका कारण चार वटा गिद्ध मरे


नवलपरासी, असार ९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण चार वटा गिद्ध मरेका छन् । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलवार लोपोन्मुख चार वटा डङ्गर गिद्ध मरेका भेटिएका हुन् ।
‘गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो’ संरक्षणकर्मी डीबी चौधरीले भन्नुभयो, ‘पोष्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध मरेको पुष्टि भएको छ ।’ विषादीयुक्त खाना खाएर स्याल मरेको र त्यही स्यालको सिनो खाएका कारण गिद्धको मरेका पाइएकाे छ । ‘गिद्ध संरक्षणमा विषादी प्रयोग चुनौतीपूर्ण बनेको छ’, चौधरीले भन्नुभयो, ‘यस क्षेत्रमा गिद्ध मरेको चार महीनायता यो दोस्रो घटना हो ।’
गएकाे फागुनमा समेत विषाक्त खानाका कारण यहाँ पाँच वटा डङ्गर प्रजातिका गिद्ध मरेका थिए । प्रकृतिको कूचीकारको रुपमा रहेको लोपोन्मुख प्रजातिको गिद्ध संरक्षण गर्नु सबैको कर्तव्य भएको चौधरी बताउनुहुन्छ । यस विषयमा गम्भीर भएर सोच्न सरोकारवाला सबैलाई उहाँले आग्रह गर्नुभयो । गाईबस्तुलाई दुखाइ कम गराउन खुवाइने प्रतिबन्धित औषधि तथा स्याल मार्न प्रयोग गरिने विषादीका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ ।
गिद्ध मृत भेटिएको केरुङ्गे खोलाबाट नजिकैको दूरीमा गिद्ध संरक्षण गर्न निर्माण गरिएको पिठौलीको जटायु रेष्टुरेन्टसमेत पर्दछ । यस क्षेत्रमा ठूलाठूला सिमलका रुख रहेकाले गुँड बनाउन र बस्न गिद्धका लागि याे ठाउँ उपयुक्त रहेको छ । रासस





