अर्थशास्त्रका पीएचडी अर्याललाई मुख्यसचिवको चिठ्ठा


काठमाडौँ । नर्बेबाट अर्थशास्त्रमा पीएचडी गरेका निजामती प्रशासनका सचिव डा. बैकुण्ठ अर्याललाई सरकारले मुख्यसचिव पदले पुरस्कृत गरेको छ।
सचिवका रुपमा कार्यकाल सकिनु ४८ घन्टाअगाडि सरकारले हुँदाखाँदाका मुख्यसचिव शंकरदास बैरागीलाई सुरक्षा सल्लाहकारमा थन्क्याएर डा. अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले मुख्यसचिव पदमा जथाभावी गर्दा वरियताक्रममा रहेका वरिष्ठ सचिवहरुलाई भने मर्का परेको छ।
बैरागीलाई पूरा कार्यकाल सरकारले मुख्यसचिव खान दिएको भए उनी असोज १४ गतेसम्म पदमा रहन्थे भने त्यत्तिञ्जेल अर्यालले अवकाश पाइसकेका हुन्थे। त्यो परिस्थितिमा सूर्यप्रसाद गौतम, देवकुमारी हुमागाईँ र केवल भण्डारी सचिवहरुको वरियतामा अगाडि हुन्थे। सरकारले नियम मिच्दा मुख्यसचिवको जिम्मा पाउने आस गरेर बसेका सचिवहरुलाई भने मर्का परेको एक सचिवले देशसञ्चारसँग गुनासो पोखे।
कांग्रेसनिकट डा. अर्याल अहिले प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। अर्थशास्त्रमा नर्बेबाट पीएचडी गरेका अर्याललाई अर्थ मन्त्रालय हाँक्ने रहर रहेको बताउँछन् उनीसँगै काम गरेका कर्मचारीहरु। उनले त्यो अवसर भने कहिल्यै पाएनन्। उनले अर्थमन्त्रालय अन्तर्गतमा शाखा र विभागहरुमा काम गरेरै अर्थमन्त्रालयको तिर्सना मेट्नुपर्यो।
योजना आयोगमा पनि उनले लामो समय काम गरे।
२०४९ सालमा हुलाक सेवाबाट निजामती प्रशासनको अधिकृत बनेका अर्यालको ३१ वर्षे यात्रामा उनले अर्थविज्ञको छवि बनाएका छन्। त्रिभुवन विश्वविद्यालयबाट दुइटा र नर्बेबाट गरी तीनवटा स्नातकोत्तर डिग्री लिएका अर्यालले २०७५ सालमा सचिव भएयता भने एउटा सूचना तथा सञ्चार मन्त्रालयबाहेक अन्य खासै राम्रो पोस्टिङ पाएका थिएनन्। तर, जीवनको उत्तरार्द्धमा भने उनले आफ्ना समकालीन सचिवहरुलाई जिल्याउँदै मुख्यसचिवको तीनवर्षे कार्यकालको बागडोर पाएका छन्।
मन्त्रिपरिषद् बैठकले बिहीबार डा. अर्याललाई मुख्यसचिवको नियुक्ति दिँदै शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा थन्क्याएको छ।
यसअघि २०७७ सालमा पनि सरकारले मुख्यसचिव नियुक्तिमा चलखेल गरेको थियो। पदावधि बाँकी छँदै मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतमा राजदूतको जिम्मेवारी दिएर सरकारले परराष्ट्र मन्त्रालयका तत्कालीन सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्ति दिएको थियो।





