देश

    अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी 

    नवलपुर टुडे
    २०८० जेष्ठ ३१ | बिहान ०६:०२ बजे

      काठमाडौ । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ । मंगलबार बिहान छाती दुखेपछि मुटुको परीक्षणका लागि उनलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

      दम र ग्याष्ट्रिकबाट पीडित राष्ट्रपति पौडेलको स्वास्थ्यमा मंगलबार बिहान ७ बजेतिर समस्या देखिएको थियो । पौडेललाई अस्पतालको भिआइपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । मुटुको परीक्षणका लागि उनको एनजिओग्राम गरिएको अस्पतालले जनाएको छ । एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो रहेको सचिवालयले जानकारी दिएको छ ।

      गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ । एनजिओग्राम गरेपछि २४ घन्टा अवलोकनमा राख्नुपर्ने भएकाले राष्ट्रपतिलाई भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । 

      गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । अस्पतालका निर्देशक डा. अधिकारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा भर्ना भएको र २४ घन्टा अवलोकनमा राखी डिस्चार्ज गरिने उल्लेख छ । राष्ट्रपतिका निजी चिकित्सक डा. नीरज बमले पनि राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको बताए । उनलाई बुधबार बिहान ८ बजे डिस्चार्ज गर्ने तयारी छ । 

      यसअघि ६ वैशाखमा राष्ट्रपतिलाई पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि त्यसै दिन भारत लगिएको थियो । भारतमा उनको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको थियो । करिब दुई साता लामो उपचारपछि राष्ट्रपति पौडेल १८ वैशाखमा स्वदेश फर्केका थिए । त्यसअगाडि उनको पेटमा समस्या देखिएपछि १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

        कमेन्टहरु