मर्यादापालकको अमर्यादित व्यवहारप्रति संसदीय मामिला पत्रकार समाजको आपत्ति


काठमाडौ । संघीय संसदमा रिपोर्टिङका क्रममा पत्रकारहरूमाथि मर्यादापालकबाट पछिल्लो समय अमर्यादित व्यवहार बढ्दै गरेकोप्रति संसदीय मामिला पत्रकार समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासचिव विष्णु खड्काले आज एक विज्ञप्ति जारी गरी पत्रकारहरूमाथि मर्यादापालकबाट बढ्दै गएको अमर्यादित व्यवहारप्रति खेद व्यक्त गरेका छन् । ‘संसदीय समिति र संसद् बैठकका समाचार संकलनका क्रममा मर्यादापालकबाट दैनिकजसो अवरोध बढ्दै जानु हामी सबैको चिन्ताको विषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको मंगलबारको बैठकमा संसदीय मामिला पत्रकार समाजका कार्यसमिति सदस्य तथा रातोपाटी डटकम अनलाइनका पत्रकार शम्भु दंगाललाई समाचार संकलन गरिरहेका वेला मर्यादापालकबाट दुर्व्यवहार भएको घटनाप्रति मामिलाको गम्भीर ध्यानाकर्षण भएको हो ।
‘उपसमितिले औपचारिक रूपमा बोलाएर सधैँझैँ समाचार संकलन गरिरहेका वेला मर्यादापालकले माथिको आदेश भन्दै ल्यापटपमा समाचार संकलन गर्न नपाइने भन्दै एक्कासि समिति कक्षबाट पाखुरा समातेर बाहिर निकालेको घटनाप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
मामिलाले घटनाबारे सभामुख, संघीय संसद्का महासचिव, प्रवक्ता र मर्यादापालकको प्रमुखलाई भेटेर यस्ता घटना आगामी दिनमा हुन नदिन ध्यानाकर्षण गराएको छ ।






