देश

    खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष शेर्पाको नागरिकताको विषयलाई लिएर उच्च अदालतमा रिट दर्ता

    नवलपुर टुडे
    २०८० जेष्ठ २९ | मध्यान्ह ०१:०२ बजे

      ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाको नागरिकताको विषयलाई लिएर उच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकाको नागरिकता नत्यागी पुरानै नेपाली नागरिकताको प्रतिलिपिको आधारमा चुनावमा सहभागी भई अध्यक्ष निर्वाचित भएको भन्दै उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा गत मंगलबार उत्प्रेषण मिश्रित परमादेश तथा निषेधाज्ञाको रिट दर्ता भएको हो ।

      गम्बु शेर्पासँगै अध्यक्ष पदमा उम्मेद्वार बनेका प्रत्यासी खिजिदेम्बा ८ का भूपेन्द्र बस्नेतले रिट दर्ता गरेका हुन् । रिट निवेदक बस्नेतले अध्यक्ष शेर्पाको पद खारेजीको साथै सो पदमा आफू नियुक्त हुनुपर्ने दाबी गरेका छन् । शेर्पा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । बस्नेत नेपाली कांग्रेसका उम्मेद्वार थिए ।

      अध्यक्ष शेर्पा १८ वर्षसम्म अमेरिका बसेर नेपाल आएका हुन् । उनी अमेरिका बसेर आएको दुई वर्ष मात्र भएको थियो । शेर्पा आफैले अमेरिकाको ग्रीन कार्ड त्यागेर चुनाव लड्न गाउँ आएको बताउँदै आएका थिए ।

      उनले अमेरिकाको ग्रीन कार्ड लिइसकेपछि नेपाली नागरिकता परित्याग गरेका थिए कि थिएनन् ? यदि नेपाली नागरिकता परित्याग गरेको भएपनि अमेरिकन ग्रीन कार्ड त्याग गरेपछि नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रियामा गएको नदेखिएको रिट निवेदक बस्नेतको तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता टेकबहादुर राईले बताए ।

      photo 2023 06 12 12 43 41

      गम्बु शेर्पाले २०५७ सालमा लिएको नागरिकताको प्रथम प्रतिलिपि ।

      प्राप्त कागजात हेर्दासमेत अध्यक्ष शेर्पाले नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकताको प्रतिलिपि लिएको देखिन्छ । गत २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सहभागी हुन उनले वैशाखको ५ गते प्रतिलिपि लिएका थिए ।

      उनको यो दोस्रो प्रतिलिपि हो । २०५३ साल कात्तिक १६ गते १३१९७/६२१ नम्बरको पहिलो पटक नागरिकता लिएका शेर्पाले २०५७ फागुन १७ गते प्रथम प्रतिलिपि लिएका थिए । गतवर्षको वैशाख ५ मा उनले नागरिकता पुन:प्राप्ति नभई प्रतिलिपिको अनुसूची भरेर नागरिकता लिएको देखिन्छ ।

      photo 2023 06 12 12 46 06

      गम्बु शेर्पाले २०७९ वैशाख ५ गते नागरिकताको प्रतिलिपिका लागि इलाका प्रशासन कार्यालय खिजिफलाटेमा दर्ता गरेको निवेदन ।

      उच्च अदालतले तत्काल निषेधाज्ञाको आदेश जारी गरेको छैन । अदालतले परराष्ट्र र अध्यागमन विभागमार्फत उनको अमेरिकन पासपोर्टलगायतको प्रमाण झिकाइसकेको छ । जिल्ला प्रशासन र इलाका प्रशासन खिजिफलाटेलगायतलाई कागजात माग गरेको छ ।

      अध्यक्ष गम्बु शेर्पाले भने आफूले नेपालको संविधान, ऐन, कानुन पूर्ण रुपमा पालना गरी चुनावमा निर्वाचित भएको प्रतिक्रिया दिए । ‘मैले सबै प्रक्रिया पूरा गरेर मात्र निर्वाचनमा सहभागी भएको हो ।’ उनले भने, ‘कोही कसैले मैले एक वर्षमा गरेको काम देख्न नसकेर रिसईबी साँधेर मुद्दा हालेको होला । मैले मुद्दा पर्योा भन्ने सुनेको मात्र हो । अदालतको कुनै पत्र प्राप्त भएको छैन ।’

      कानुन व्यवसायी तथा सरोकारवालाले भने यो रिट संघीय सांसद रवि लामिछानेकै जस्तो भएकोले यदि आरोप प्रमाणित भएमा सोही नजिरको आधारमा फैसला हुनसक्ने बताएका छन् । ईकान्तिपुमा खबर छ ।

        कमेन्टहरु