मोटरसाइकल दुर्घटनामा भरतपुरमा एक युवकको मृत्यु

नवलपुर टुडे
२०८० जेष्ठ २२ | बिहान ०९:०२ बजे

चितवन, जेठ २२ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १९ का २७ वर्षीय सन्तोष गुरूङको रहेको छ ।
गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।
दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो । भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको सोमबार बिहान पौने तीन बजेतिर मृत्यु भएको डीएसपी पण्डितले बताए ।
मृतक गुरुङको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।





