भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल, विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)


काठमाडौँ, जेठ २० । भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । शनिबार साँझ सवा ६ बजे उनीसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
विमानस्थलमा प्रधानमन्त्री दाहाललाई स्वागत गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । यस्तै भ्रमणकै क्रममा उनले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।






