समाचार

    नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ ओटा मुर्रा जातको भैंसी दिने

    नवलपुर टुडे
    २०८० जेष्ठ २० | मध्यान्ह ०२:०२ बजे

      काठमाडौँ, जेठ २० । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा जातको भैसी उपलब्ध गराउने भएको छ । यसअघि तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले दिल्ली गएर त्यहाँको कृषि मन्त्रालयसमक्ष भैंसी र रागो उपलब्ध गराउन प्रस्ताव गरेका थिए ।

      सोही प्रस्तावअनुसार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग सहमति भएको हो । पशु सेवा विभागका महानिर्देशक डा.सम्झना काफ्लेका अनुसार भारत सरकारले मुर्रा जातको राँगो र भैंसी दिने सहमति भइसकेको छ । सहमति लगत्तै त्यहाँबाट भैसी र राँगो ल्याउने तयारी भइरहेको उनले बताइन् ।

      नेपालमा रहेको मुर्रा जातको भैसी पुरानो भइसकेको र नयाँ जातका लागि भारतसँग पहिलादेखि नै छलफल चलिरहेको उनले बताइन् । त्यसका लागि अहिले आएर सहमति भएको काफ्लेको भनाई छ । नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी उपलब्ध गराउन लागिएको हो ।

      त्यस्तै, नेपाल–र भातरबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले दुवै पक्षबीच नानो युरिया र प्राकृतिक खेतीजस्ता द्विपक्षीय सहकार्यको नयाँ आयामबारे पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । त्यसैगरी भारत सरकारले अनुदान सहयोगमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न ग्राउण्ड स्टेसनको निर्माणका साथै ३०० वटा टर्मिनल उपलब्ध गराउने भएको छ ।

      यो प्रयासले अन्तरिक्ष क्षेत्र, दूरसञ्चार तथा प्रसारण, टेलिमेडिसिन, दूरशिक्षा, इ–गोभर्नेन्स, बैंकिङ तथा एटिएम सेवा, मेटोरोलोजिकल डाटा प्रसारण, डिजास्टर रेसपोन्सलगायतको क्षेत्रीय सहकार्यलाई प्रवद्र्धन गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

        कमेन्टहरु