समाचार

    आगामी ५ दिन तराई क्षेत्रमा तातो हावा र ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

    नवलपुर टुडे
    २०८० जेष्ठ १९ | मध्यान्ह ०६:०२ बजे

      काठमाण्डाै, जेठ १९ । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले आज शुक्रबार विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आगामी पाँच दिन ‘लु’ लाग्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

      पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरुमा तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।

      पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएकाे महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताए । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको उनको भनाइ छ । काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुरलगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

      तातो हावा तथा ‘लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि असरहरु देखापर्ने महाशाखाले जनाएको छ ।

      तातो हावा तथा ‘लू’ बाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ ।

      ‘लु’ तथा गर्मीको समस्याबाट बच्न याे समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

        कमेन्टहरु