लमजुङ कारागारबाट भागेका दुई जना कैदीबन्दी पक्राउ


लमजुङ । लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्। बिहीबार बिहान साढे १ बजेतिर बेसीशहर नगरपालिका-८ शेरास्थित कारागारको उत्तर पश्चिमतर्फको कैदी कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए।
फरार मध्ये जवरजस्ती करणी मुद्दामाका मध्यनेपाल नगरपालिका-४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नगरपालिका २ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।
अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राती साढे ११ बजे बेसीशहर नगरपालिका १ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्दामामा पुर्पक्षका लागी कारागार चलान भएका थिए । दुई जनालाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ८८ कैदीबन्दी छन् । तीमध्ये ६ जना महिला र ८२ जना पुरुष छन् ।
कारागारमा कैदीबन्दीको संख्या बढेको मात्र छैन, कारागारका भवनसमेत जीर्ण बनेका छन् । त्यसमाथि ०७२ सालको भूकम्पले जीर्ण बनेको भवनमै अहिले पनि कैदीबन्दी राख्ने गरिएकाले जोखिम छ । कारागार प्रशासनले आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि प्रक्रिया अगाडि बढेको छैन ।





