देश

    माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलित अनिवार्य राखिने

    नवलपुर टुडे
    २०७८ बैशाख १५ | बिहान ०७:०१ बजे

      काठमाडौं ।
      नेकपा (माओवादी केन्द्र) ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ संगठन संरचनमा जाने निर्णय दिएकाे छ।

      मंगलबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले नवल पुर टुडे लाई जानकारी दिए ।

      जस अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व हुने छ। त्यस्तै सबै समितिका पदाधिकारीमा १ जना महिला अनिवार्य राखिने छ । २० प्रतिशत युवाको अनिवार्य उपस्थि गराइने छ।

      श्रेष्ठले केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको बताए । माओवादी केन्द्र बहुपदाधिकारी प्रणालीमा जाने भएको छ ।

      कार्यकारी नेतृत्व चयनको विधि कस्तो बनाउने भन्नेबारे पार्टीको तल्लो कमिटीसम्म छलफल चलाउने निर्णय भएको बताउँदै श्रेष्ठले केन्द्रीय कमिटी भने बढीमा २ सय ९९ सदस्यीय हुने जानकारी दिए । केन्द्रीय कमिटीमा प्रस्तावका रुपमा पठाइएको संसोधित विधान त्यहाँ अनुमोदन भएपछि लागू हुने छ।

      संगठन संरचना लथालिङ्ग रहेकै बेला माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेको थियो। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि हालसम्म नेकपाका काे पुरानै संरचनामा बैठक हुने गरेका छन् ।

        कमेन्टहरु