धनुषामा चोरीमा संलग्न १३ जनालाई पक्राउ गरी सार्वजनिक


बुटवल, जेठ १८ । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका चोरी घटनामा संलग्न १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/०८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५०९ जनामध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १३१ जनालाई कारागार पठाइएको प्रहरीले बताएको छ ।
चोरी आरोपमा पक्राउ परेकाहरू सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।
उनले भने, “जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा पक्राउ गरिएको हो ।”
उनले जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेकामध्ये एकजना धरौटीमा छुटेको, तीनजना कारागार चलान भएको जानकारी दिँदै बाँकी २३ जनासहित हालको पक्राउ परेका १३ जना गरी ३६ जना अनुसन्धानको क्रममा रहेको जानकारी दिए ।
प्रहरीले विभिन्न मितिमा बरामद गरिएका १३ वटा मोटरसाइकल सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७०० फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे सात करोड रुपैयाँ भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजस्व संकलन गरिएको बताए ।
धनुषामा चालु आर्थिक वर्षमा हालसम्म ४३८ वटा चोरीका घटना भएकोमा ९९ वटा मुद्दा दर्ता भएको र पीडितले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।





