नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी कारोबार सम्झौता


काठमाडौँ । नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारका लागि सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा बिहीबार यस्तो सम्झौता भएको हो ।
उक्त कारोबारको जिम्मा नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारततर्फको कारोबारको जिम्मा नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)लाई दिने गरी द्वपक्षीय सम्झौता भएको हो ।
यो सम्झौतासँगै नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने छन् । धेरै नागरिक आवतजावत गर्ने भएकाले नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता आवश्यक थियो । हाल नेपालमा भारु एक सयभन्दा ठूला दरका नोट चलनचल्तीमा छैनन् । यसकारण धेरै भारतीय नागरिक नेपालमा आउँदा भुक्तानीमा समस्या छ । त्यस्तै घुमफिर, उपचार र अध्ययनका लागि भारत पुग्ने नेपालीलाई पनि कठिनाइ छ ।
हाल मास्टर र भिसामार्फत जारी भएका कार्डबाट कारोबार भए पनि वालेट तथा क्यूआरबाट नेपाल र भारतबीच भुक्तानी हुँदैन । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारसम्बन्धी प्रणाली सञ्चालनमा आए मोबाइल बैंकिङ (वालेट) र क्यूआर कोडमार्फत नेपालीले भारतमा र भारतीयले नेपालमा भुक्तानी गर्न सक्नेछन् ।
हाल अन्तर्देशीय भुक्तानीमा वालेट तथा क्यूआर भुक्तानीलाई मान्यता छैन ।





