समाचार

    पूर्वप्रहरी कर्मचारी संगठनले गरे राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    नवलपुर टुडे
    २०८० जेष्ठ १६ | मध्यान्ह ०७:०२ बजे

      काठमाडौं, जेठ १६ । सुनसरीको इनरुवामा पूर्वप्रहरी कर्मचारी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्दै पुत्ला दहन गरेका छन् । 

      टिकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरूवा बस चोकमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन्।

      प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद सजाय भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताए । पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानूनी राज्यप्रतिको उपहास भएको बताए ।

      उनीहरूले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत बताए । उनीहरुले “भ्रष्टाचारी सरकार मुर्दावाद, गैरजिम्मेवार सरकार मुर्दावाद, हिजडा सरकार मुर्दावाद, कानुनविरोधी राष्ट्रपति र प्रधानमन्त्री मुर्दावाद” लगायतका नाराबाजी लगाएका थिए ।

      पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाइमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरूले समेत सहभागिता जनाएका थिए ।

        कमेन्टहरु