कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेरमा निधन

नवलपुर टुडे
२०८० जेष्ठ १६ | मध्यान्ह ०४:०२ बजे

काठमाडौँ, जेठ १६ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन भएको छ । पाण्डेको ७२ वर्षको उमेरमा आज मंगलबार निधन भएको हो ।
उनको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद बनेकी थिइन् । २०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् ।
नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी पाण्डे पार्टीको ११ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बनेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनी निष्क्रिय थिइन् ।





