एमालेको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने

नवलपुर टुडे
२०८० जेष्ठ १२ | मध्यान्ह ०५:०२ बजे

काठमाडौँ, जेठ १२ । प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने भएको छ । एमालेको अवरोधपछि मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।
२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समयपछि धकेलिएको हो । बुधबारको संसद बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए ।
त्यही विषयलाई लिएर एमालेले आज संसद अवरोध गरेको हो । एमालेले माओवादी सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउनु पर्ने माग राखेको छ ।






