देश

    राष्ट्रपतिको भारतमा उपचार हुँदा भएको खर्च कसले बेहोर्ने ?

    नवलपुर टुडे
    २०८० जेष्ठ ९ | मध्यान्ह ०७:०२ बजे

      एम्सको बिल ९६ हजार, परिवारजन बसेको होटलको बिल २ लाख १३ हजार, फुटकर ६० हजार भारु खर्च

      राष्ट्रपतिसँगै दिल्ली पुगेका चिकित्सक, परराष्ट्रका प्रोटोकल अधिकारी, सुरक्षाकर्मी र स्वकीय सचिवालयका ७ जना कर्मचारीको खाने-बस्ने खर्च भने भ्रमण भत्तामा कटाउने गरी सरसापट गरेर मिलाइएको थियो

      नयाँ दिल्ली — राष्ट्रपति रामचन्द्र पौडेलले गत महिना दिल्लीमा गराएको उपचार खर्च कसले तिर्ने भन्ने विषयमा अलमल देखिएको छ । अस्पताल, होटललगायतमा भएको खर्चको बिल भुक्तानी माग गर्दै नेपाली दूतावासमा आएको छ । तर, त्यसको भुक्तानीका लागि नेपाल सरकार वा राष्ट्रपति स्वयंबाट पैसा भने दूतावासले रकम नपाउँदा अलमल देखिएको हो ।

      दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उनको उपचार भएको थियो । एम्स अस्पतालले कुल ९६ हजार भारुको बिल पठाएको छ । सरकारी अस्पताल भएकाले उपचार खर्चको बील धेरै ठूलो भने छैन । तर, उक्त रकम तिर्नलाई पनि दूतावासमा कतैबाट बजेटको व्यवस्थापन छैन ।

      वैशाख–६ गते दिउँसो एयर एम्बुलेन्समा परिणत गरिएको श्री एयरलाइन्सको चार्टर्ड विमानबाट राष्ट्रपति पौडल दिल्ली आइपुगेका थिए । उनलाई तत्कालै एम्स अस्पतालमा भर्ना गरिएको थियो । ११ दिनसम्म एम्स अस्पतालमा उनी भर्ना थिए । ‘फोक्सोमा संक्रमण’ को उपचारका लागि पौडेल दिल्ली आएका थिए । काठमाडौंमा त्रिवि शिक्षण अस्पतालमा गरिएकै उपचार दिल्लीमा पनि गरिएको थियो ।

      राष्ट्रपति पौडेल दिल्ली आएर उपचार गरी फर्किएको महिना दिन किटसक्दा पनि सरकारी तहबाट दूतावासलाई उनको उपचारका सम्बन्धमा कुनै पनि पत्राचार भएको छैन । राष्ट्रपतिसँगै परराष्ट्रका कर्मचारी खटिएर आए पनि परराष्ट्रले दूतावासलाई उपचार खर्चका सम्बन्धमा कुनै पनि अख्तियारी वा निर्णय पठाएको छैन ।

      ‘राष्ट्रपतिज्यू उपचारका लागि आउनुभयो, उपचार भएर उहाँ फर्किनु पनि भयो, तर सरकारी तहबाट अझैसम्म कुनै निर्णय आएको छैन, यो हुँदै न हुनुपर्ने काम भयो,’ दूतावास स्रोतले भन्यो, ‘पैसा कसले तिर्ने हो ? सरकारले हो भने त्यसै अनुसारको निर्णय आउनुपर्‍यो । व्यक्तिगत नै हो, भने त्यसै अनुसारको व्यवहार मिलाउनुपर्‍यो । धेरै दिनसम्म बाँकी बक्यौता राख्न त सुहाएन ।’

      दिल्लीबाट फर्किएर काठमाडौं पुगेपछि राष्ट्रपतिको स्वकीय सचिवालयबाट उपचार खर्च स्वयं राष्ट्रपतिले तिर्ने ईच्छा राखेको कुरा सार्वजनिक गरिएको थियो । तर, त्यस अनुसारको उपचारको क्रममा भएको खर्चको लेखाजोखा गर्न कुनै ताकेता गरिएको भने छैन । एम्स अस्पतालले बील भने राष्ट्रपति पौडेलकै नाममा पठाएको छ ।

      एम्सबाट बिदाई हुनेबेलामा राष्ट्रपतिका तर्फबाट सुरक्षाकर्मी र अस्पतालका कर्मचारीलाई बाँडिएको टिप्स र औषधि र फुटकर शीर्षकमा ६० हजारको खर्च देखिएको छ । त्यस्ता खर्चहरु कतिपय राजदूत स्वयं र कर्मचारीहरुको गोजीबाट भएका छन् । त्यसको भुक्तानी पनि बाँकी छ । सरकारी निर्णय नआएपनि राष्ट्रपति आउने भएपछि दिल्लीस्थित दूतावास सक्रिय हुनु स्वभाविक थियो । स्रोतले भन्यो– ‘त्यही क्रममा आइपरेका फुटकर खर्चहरू निजी तहबाटै गरियो । तर, अख्तियारी नआएपछि अन्य रकम भुक्तानीमा समस्या भएको छ ।’

      अर्कोतर्फ, राष्ट्रपतिका परिवारका सदस्यहरूका लागि होटल लिलामा लिइएको कोठाको बिल पनि २ लाख १३ हजार भारु आएको छ । त्यो तिर्न पनि बाँकी छ । स्रोतका अनुसार त्यस होटलमा ३ वटा कोठा लिइएको थियो । प्रतिकोठा प्रतिदिनको २२ हजार थियो । होटल महँगो भएपछि तीन दिन त्यहाँ बसेर परिवारका सदस्य एम्बेसीकै गेस्ट रुममा सरेका थिए । लिला होटलको बिल पनि दूतावासमा नै आएको छ ।

      राष्ट्रपतिसँगै आएका चिकित्सक, परराष्ट्रका प्रोटोकल अधिकारी, सुरक्षाकर्मी र स्वकीय सचिवालयका ७ जना कर्मचारी भने सफदरजंगस्थित सामान्य होटलमा बसेका थिए । त्यहाँ प्रतिकोठाको २२ सय भारु थियो । करिब १ लाख ७० हजारको भुक्तानी त्यहाँ गरिएको छ । कर्मचारीहरूले नियमानुसार पाउने भ्रमण भत्तामा कटाउने गरी सरसापट मिलाएर उक्त रकम भुक्तानी गरिएको थियो ।

      कर्मचारीले नियमानुसार पाउने भ्रमण भत्ताबाहेक अस्पताल, परिवार बसेको होटल र फुटकर खर्च ४ लाख भारु हाराहारी देखिएको छ । उनको उपचारको क्रममा भएको सबैभन्दा ठूलो खर्च दिल्ली आउन चार्टर्ड गरिएको विमानकै हो । स्रोतका अनुसार त्यसको भाडा थोरैमा पनि करिब ३५ लाख नेपाली हो । दिल्लीबाट फर्किनेबेलामा भने पौडेलसहितको टोलीले नेपाल वायुसेवा निगमको नियमित विमानकै प्रयोग गरेका थिए । ईकान्तिपुरबाट साभार

        कमेन्टहरु