मधेश प्रदेश

    मधेस प्रदेश : नयाँ तीन मन्त्रीले लिए शपथ, सुरिता र कुशवाहको जिम्मेवारी खोसियो

    नवलपुर टुडे
    २०८० जेष्ठ ९ | मध्यान्ह ०३:०२ बजे

      जनकपुरधाम, जेठ ९ । मधेस प्रदेश सरकारमा तीन मन्त्री थपिएका छन् । मंगलबार प्रदेश सरकारका नयाँ तीन मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

      नेपाली कांग्रेसबाट दुई र नेकपा एसबाट एक मन्त्रीले शपथग्रहण गरेका हुन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका कृष्णाप्रसाद यादवले भौतिक पूर्वाधार विकासमन्त्री, सोही पार्टीका वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र नेकपा एसबाट गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका हुन् । 

      यसअघि, भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रीमा जनमत पार्टीका इन्जिनियर वसन्त कुशवाह थिए । उनको ठाउँमा न्यौपानेलाई ल्याइएको छ भने स्वास्थ्य तथा जनसंख्याबाट जसपाकी नेतृ सुरिता साहलाई हटाएर कांग्रेसका वीरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको छ । साह र कुशवाह अहिले बिनाविभागीय मन्त्री छन् । पछि सरकारले व्यवस्थापन गर्ने बताइएको छ ।

      आज मन्त्री पदमा शपथ खाएका कृष्णप्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’, वीरेन्द्रप्रसाद सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ र न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट निर्वाचित हुन् । मन्त्री थपिएकै दिन नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

        कमेन्टहरु