समाचार

    विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले दुई सय सत्तरी ग्राहक कालोसूचीमा राख्यो

    नवलपुर टुडे
    २०८० जेष्ठ ८ | मध्यान्ह ०८:०२ बजे

      भरतपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ। वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो।

      कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवा समेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो। कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार आठ सय ८१ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ। ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले बताए। उनले भने,‘बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो। सबैले प्रयोग गरौं।’

      यस वितरण केन्द्र अन्तर्गत एक लाख रुपैयाँभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन्। बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताए। उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन्।

        कमेन्टहरु