समाज

    गुल्मीदरवार नेपालमै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

    नवलपुर टुडे
    २०८० जेष्ठ ७ | मध्यान्ह ०२:०२ बजे

      गुल्मी । नेपाललमै पहिलोपटक गुल्मीदरवार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेका हुन्।

      घोषणा सभालाई सम्बोधन गर्दै कार्कीले अभियानको दिगोपन र निरन्तरतामा जोड दिए। दिवंगत तत्कालिन गाउँपालिका प्रमुख अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षिय दीर्घकालिन योजना बनाउँदा पोषण तथा मातृ शिशु सेवालाई प्राथमिकता दिएको थियो। सोही योजनाअनुरुप स्थापनाकालदेखि नै गुल्मीदरबार गाउँपालिकाले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।

      महिनावारीका लागि सुरक्षित सामाग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल ब्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण, नेपालमै पहिलोपटक एकीकृत पोषणसम्बन्धी ‘कस्तो छ आमा’ कार्यक्रमको शुरुवात, बर्थिङ्ग सेन्टर संचालन र बलिथुम स्वास्थ्य चौकिलाइ लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिब पन्थीले जानकारी दिए।

      अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला सुआहारा, एकीकृत ग्रामिण विकास समाज गुल्मीले नियमित अनुगमन र सुझाव दिइरहेको थियो। ५ बर्षको निरन्तर प्रयासपश्चात अहिले गुल्मीदरवार गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारसहित नेपालमै पहिलो अभियान घोषणा गर्न सकिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले बताए। यस गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण  कार्य अन्तिम चरणमा रहेको छ भने नियमित खोपतर्फ गाउँपालिका पूर्णखोप र कोभिड १९ को पनि पूर्णखोप गाउँपालिका सुनिश्चित भएको छ।
       
      एकीकृत बालरोग ब्यवस्थापन कार्यक्रम पनि निकै प्रभावकारी रुपमा संचालन भैरहेको गाउँपालिकाले जनाएको छ।

        कमेन्टहरु